भौगोलिक अवस्थिति

खोटाङ जिल्लाका दशवटा स्थानीय तहका आठ वटा गाउँपालिकाहरूमध्ये एक रावाबेसी गाउँपालिका  हो । जिल्लाको उत्तरी भागमा अवस्थित रावाबेसी गाउँपालिकाको केन्द्र साविक लामिडाँडा गाउँपालिका भई खार्पा केन्द्र रहेको थियो । यो जिल्लाको सदरमुकाम दिक्तेलभन्दा करिब १३ किलोमिटर उत्तरतर्फ पर्दछ । रावाबेसी गाउँपालिका नक्सामा हेर्दा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ लाम्चो परी बसेको छ । यस पालिकाका दुई वटा वडाहरू वडा नम्बर ४ र ५ उत्तरबाट दक्षिण रावाखोला तर्फ ढल्केका छन् भने बाँकी सबै वडाहरूमा वडा नम्बर ६ पूर्वदक्षिणबाट उत्तर रावाखोला तर्फ ढल्किएको छ भने क्रमशः वडा नम्बर १,२ र ३ दक्षिणतर्फबाट उत्तरपश्चिम ढल्किएका छन् । यसरी हेर्दा यस गाउँपालिकाका सबै वडाहरू रावाखोलालाई बीचमा पारी आम्नेसाम्ने रहेका छन् । वडा नम्बर ३ को उत्तर पश्चिमी भाग दूधकोशी नदीतर्फ ढल्किएको छ ।

स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार कुभिण्डे, खार्पा, हौचूर, लामिडाँडा,दूबेकोल र धारापानी गरी छ वटा गाउँ विकास समितिहरूका सम्पूर्ण वडाहरूलाई मिलाएर गठन गरिएको हो । यसमा छ वटा पूर्व गाविसहरू छ वटा वडाहरूमा रूपान्तरण भएर सिङ्गो गाउँपालिका गठन भएको देखिन्छ ।

2024 All Rights reserved with Rolling Nexus