मुस्ताङ जिल्लाको माथिल्लो भेग (Upper Mustang) मा अवस्थित यस गाउँपालिका १३४४ वर्ग किमी क्षेत्रफलमा फैलिएको जिल्लाको सवैभन्दा ठूलो गाउँपालिका हो । यस गाउँपालिकाको उत्तर तर्फ लोमान्थाङ गाउँपालिका तथा चीनको सिमाना पर्दछ भने दक्षिण तर्फ वाह्रगूँ मुक्तिक्षेत्र गाउँपालिका पर्दछ । त्यस्तै पूर्व तर्फ मनाङको नारफुभूमि गाउँपालिका र पश्चिम तर्फ डोल्पाको छार्काताङसोङ गाउँपालिका पर्दछ । समून्द्री सतहबाट ३५०० मिटर देखि ५५०० मिटर सम्मका भूभागहरु यस गाउँपालिकामा रहेका छन् । यस गाउँपालिकालाई प्रशासनिक हिसावले पाँच वडामा विभाजन गरिएको छ । गाउँपालिकाको जम्मा जनसंख्या करिव १४२३ रहेको छ । वडा नं १ मा चराङ र मराङ गाउँ पर्दछन् जहाँ गाउँपालिकाको केन्द्र रहेको छ । वडा नं २ मा घमी र ढाक्मर गाउँ पर्दछन् । वडा नं घ मा घिलिङ र साङवोचे गाउँ पर्दछन् । त्यस्तै वडा नं ४ मा ढि सुर्खाङ यारा घारा गाउँ पर्दछन् भने वडा नं ५ मा ध्ये र ताङ्ग्या गाउँ पर्दछन् । गाउँपालिकाको विच भागबाट कालिगण्डकि कोरिडोरको वाटो निर्माण कार्य भैरहेको छ । त्यसैले वडा नं १ २ र ३ कोरिडोरले छोएका सुगम वडामा पर्दछन् भने वडा नं ४ र ५ विकट वडामा पर्दछन् । यी वडाहरुका वस्ती कालिगण्डकी पारिपट्टी हुँदा विशेषगरी वर्षातको समयमा कष्टकर रहन्छ। भूगोल तथा हावापानीको हिसावले यस गाउँपालिका अत्यन्त संवेदनशील क्षेत्रमा पर्दछ । हिमालपारीको चीसो मरुभूमिको रुपमा रहेको यस क्षेत्र हिउँदमा माइनस तापक्रम रही जमेर वसेको हुन्छ ।

2024 All Rights with Rolling Nexus